वीरगञ्जका स्थानीयवासी हाल दोहोरो संकटको सामना गरिरहेका छन्—एकातिर पानीको गम्भीर अभाव, अर्कातिर नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले बारम्बार हुने अघोषित विद्युत् कटौती ।
महानगरका विभिन्न क्षेत्रमा विशेषगरी बिहान र बेलुकाको अत्यावश्यक समयमा पटक–पटक बत्ती जाने समस्याले सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। स्थानीयवासीहरू विद्युत् आपूर्ति अबरुद्ध हुँदा आक्रोशित छन् ।
उपलब्ध विद्युत् पनि कम भोल्टेजमा आएपछि पंखा, एसी, कुलरलगायतका विद्युतीय उपकरणहरू राम्रोसँग चल्न सकेका छैनन् । कतिपय उपभोक्ताहरूले लाइन काटिँदा कुनै सूचना नदिइने, फोन सम्पर्क गर्दा जवाफ नपाइने जस्ता गुनासो गरेका छन् ।
चर्को गर्मीमा विद्युत् आपूर्तिको अनियमितताले केवल सर्वसाधारणको जनजीवन मात्र होइन, कार्यालय, विद्यालय र अस्पतालहरूमा समेत कामकाज प्रभावित भएको छ । वीरगञ्जका अधिकांश वडामा दैनिक दुईदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने गरेको छ भने केही क्षेत्रमा दिनमै दुई–तीन पटक लाइन काटिने समस्या सामान्यजस्तै बनेको छ ।
स्थानीय व्यवसायी धर्मनाथ सर्राफले प्राधिकरणको लापरबाहीले जनस्वास्थ्य जोखिममा परेको बताएका छन् । “साना बालबालिकादेखि वृद्धसम्म प्रभावित छन्, प्राधिकरणले तत्काल जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,” उनले भने ।
पानी र बत्तीको संकटले आक्रान्त स्थानीयवासीहरूले स्थानीय सरकार र सम्बन्धित निकायसँग तत्काल समस्या समाधानको माग गरेका छन् । उनीहरूले दीर्घकालीन समाधानका लागि सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा राखेका छन् ।
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुखसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया प्राप्त हुन सकेन । तर, सर्वसर्वसाधारणले सम्बन्धित निकायको ध्यान तत्काल समस्यातर्फ जाओस् भन्ने अपेक्षा गरेका छन् ।