सिरहा | सिरहाको गोलबजारमा भाइ–बुहारीबीचको झगडा छुट्याउन गएका एक व्यक्तिको आफ्नै भाइको खुकुरी प्रहारबाट ज्यान गएको छ ।
गोलबजार नगरपालिका–३ निवासी ३५ वर्षीय मोतीराम सदाको हत्या उनको २५ वर्षीय भाइ श्याम सदाले खुकुरी प्रहार गरेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार घटना बिहीबार राति करिब ९ बजेतिर भएको हो ।
श्याम सदा र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेका बेला दाइ मोतीराम सदा विवाद छुट्याउन गएका थिए। त्यही क्रममा भाइ श्यामले खुकुरी प्रहार गर्दा मोतीराम गम्भीर घाइते भएका थिए ।
घाइते मोतीरामलाई तत्काल प्रादेशिक अस्पताल लहानमा उपचारका लागि लगिएको भए पनि राति ११:१५ बजेतिर उनको मृत्यु भएको डिएसपी पासवानले जानकारी दिए ।
हत्या गरी फरार भएका श्याम सदालाई प्रहरीले शुक्रबार बिहान औरही गाउँपालिकाको सीमा क्षेत्रबाट पक्राउ गरेको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।