सप्तरीको राजविराज–३ स्थित रहेको मधेस कृषि विश्वविद्यालय (एग्रीकल्चर अफ क्याम्पस) को शैक्षिक भवनमा आइतबारदेखि विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
कक्षाकोठामा न्यूनतम शैक्षिक पूर्वाधारको अभाव, शुल्कमा अनियमितता र प्रयोगात्मक कक्षा नियमित नहुँदाको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले भवनको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् ।
शैक्षिक वातावरणमैत्री पूर्वाधारको माग
विद्यार्थीहरूका अनुसार कक्षाकोठामा डेक्स बेन्चको अभाव, अत्यधिक गर्मीमा चलाइने पंखाबाट उत्पन्न ध्वनिले पठनपाठन प्रभावित भएको छ । यस्तै, प्रयोगात्मक कक्षाहरू नियमित सञ्चालन नभएको, शुल्क बढी असुल गरिएको, तोकेको भन्दा बढी शुल्क लिई रसिद नदिएको जस्ता गम्भीर समस्याहरू उठाउँदै विद्यार्थीहरूले पटक–पटक मौखिक तथा लिखित रूपमा क्याम्पस प्रशासनलाई जानकारी गराए पनि सुनुवाइ नहुँदा बाध्य भएर तालाबन्दी गरिएको बताएका छन् ।
एक आन्दोलनरत विद्यार्थीले भने, “हामीले विश्वविद्यालयका भाइस चान्सलर, रजिस्ट्रार र शैक्षिक प्रमुख सबैलाई हाम्रो समस्या लिखित रूपमा बुझाएका थियौं, तर कसैले चासो देखाएनन् । अहिले त हामीलाई पढ्न नै गाह्रो भइरहेको छ । गर्मीमा सास फेर्नै नसकिने कक्षामा पढ्न कसरी सम्भव हुन्छ ?”
शुल्कको अनियमितता र रसिद नदिएको आरोप
विद्यार्थीहरूले पहिले ३ लाख २० हजार रुपैयाँ शुल्क लाग्ने भनी सूचना प्रकाशित गरिए पनि पछि ४ लाख ५० हजार रुपैयाँ लिइएको आरोप लगाएका छन् । यति धेरै शुल्क असुल गर्दा पनि नगदी रसिद उपलब्ध नगरिएको, बैंकमार्फत बुझाए पनि लेखापरीक्षणमै त्रुटि भएको आरोप उनीहरूले लगाएका छन् ।
शैक्षिक पाठ्यक्रम अन्तर्गतको प्रयोगात्मक पठनपाठन नियमित नहुनु विद्यार्थीको अर्को मुख्य गुनासो हो । प्रयोगात्मक अभ्यासविना कृषि शिक्षाको गुणस्तर कमजोर हुने भन्दै विद्यार्थीहरू आक्रोशित बनेका छन् । क्याम्पसका शैक्षिक प्रमुख नवनित महतोले विद्यार्थीहरूले पूर्वाधार व्यवस्थापनको माग गर्दै तालाबन्दी गरेको पुष्टि गरे । उनले स्रोतसाधनको अभावले गर्दा कहिलेकाहीँ प्रयोगात्मक कक्षा प्रभावित भएको स्वीकारे । साथै, शुल्कसम्बन्धी सूचनामा त्रुटि भएको र बैंकमार्फत भुक्तानी हुने प्रणाली भएका कारण रसिद नदिएको जिकिर गरे ।
विद्यार्थीहरूले आफ्ना सबै माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् ।
भिडियाे सामाग्री