रौतहट । रौतहटको राजपुर नगरपालिका–३ की एक दलित महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही क्षेत्रका खुर्सैद खाँ पैठानलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले पैठानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । इजलाश नम्बर ३ की अधिकृत आस्था शर्मा पौडेलले उक्त जानकारी दिएकी हुन् ।
थुनछेक बहस चलिरहेका बेला पीडितलाई न्याय दिलाउन दबाब दिन रौतहट जिल्ला अदालतको गेटमा महिला अधिकारकर्मीहरू प्रदर्शनमा उत्रिएका थिए । सावित्री सुवेदीको नेतृत्वमा महिलाहरूले नाराबाजी गर्दै, “दोषीलाई उन्मुक्ति दिनु हुँदैन,” भन्ने माग गरेका थिए ।
पीडित महिलाका श्रीमान् सिकेन्द्र राम चमारले घटना सार्वजनिक भएपछि आरोपीका आफन्त तथा छोराहरूबाट बारम्बार दबाब, प्रलोभन र ज्यान मार्ने धम्कीसमेत आएको बताएका छन् ।
एक वर्षअघि बलुवा टोलमा घटेको उक्त घटनाका आरोपी खुर्सैद खाँ पैठान फरार रहँदै आएका थिए। उनी गत असार १८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए ।
सार्वजनिक चासोको विषय बनेको यो घटनामा निष्पक्ष छानबिनको माग गर्दै आम जनता पार्टीका केन्द्रीय सदस्य राजन साहले राजनीतिक पहुँच, पैसा वा अन्य कुनै प्रभावमा परेर आरोपीलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।