हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा देशको पश्चिम भागमा सरदर स्थानको आसपास र पूर्व भागमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको महाशाखाको जानकारी छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागका धेरै स्थान तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिमसमेत रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रातिपनि वर्षा सम्भावना
आज राति लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागका अधिकांश भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । लुम्बिनीसहितका पहाडी भागमा केही स्थानहरूमा पुनः मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
सुक्खाग्रस्त मधेशमा अझै वर्षाको संकेत छैन
सुक्खाबाट प्रभावित मधेश प्रदेशमा भने आज पनि वर्षाको सम्भावना देखिएको छैन । लामो समयदेखि वर्षा नपरेको मधेशमा खेतीबाली, खानेपानी र जनजीवनमा गम्भीर असर देखिन थालेको छ । यसअघि सरकारले मधेश प्रदेशका ८ वटै जिल्लालाई 'विपद् संकटग्रस्त क्षेत्र' घोषणा गरिसकेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई स्थानीय मौसम अवस्थाबारे अपडेट रहनु, बाढीपहिरोको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।