हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर मौसममा व्यापक परिवर्तन देखिएको हो । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । साथै, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराईका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
आज रातिको समयमा देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने पूर्वानुमान गरिएको छ । पहाडी क्षेत्रका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । विशेषगरी गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले त्यहाँका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, जलवायुजन्य सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार, भू–स्खलन सम्भावित क्षेत्र र पहाडी बाटोमा यात्रा गर्दा सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
भिडियाे सामाग्री