सर्लाही | कविलासी नगरपालिकाका नगरप्रमुख ब्रह्म देव रायले आफ्नै छोरालाई नगरपालिकामा रोजगार संयोजक पदमा नियुक्त गरेपछि स्थानीय तहमा विवाद चर्किएको छ ।
स्थानीय जनप्रतिनिधि र नागरिकहरूले यो नियुक्तिलाई नातावाद र कानुनी प्रक्रिया उल्लङ्घन भएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले आरोप लगाएका छन् कि नगरप्रमुखले खुला प्रतिस्पर्धाको प्रक्रिया बेवास्ता गर्दै आफ्नै छोरालाई जागिर दिलाएको छ ।
नगरपालिकाले हालसम्म नियुक्ति प्रक्रिया सम्बन्धी कुनै सार्वजनिक सूचना जारी गरेको छैन । तर, केही स्थानीयहरूले भने पदका लागि आवेदन दिएका उम्मेदवारबाट लाखौँ रुपैयाँ कमिशन असुलिएको र जागिर नपाएका केहीलाई पैसा फिर्ता गरिएको दाबी गरेका छन् ।
एक असफल उम्मेदवारले भने, “फारम खुला गरियो, अन्तर्वार्ता पनि भयो, तर अन्ततः नियुक्ति आफ्नै छोरालाई गरियो। यो न्यायसंगत प्रक्रिया होइन ।”
स्थानीय सामाजिक अभियन्ता र युवा समूहहरूले यस घटनाबारे स्वतन्त्र छानबिनको माग गरेका छन्। उनीहरूले भनिरहेका छन्, “नगरपालिकामा राजनीतिक पहुँचका आधारमा हुने नियुक्ति बन्द हुनुपर्छ । योग्य व्यक्तिलाई अवसर दिनुपर्छ ।”
यस विषयमा नगरप्रमुख ब्रह्म देव रायले मिडियासँग औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
