सर्लाही | सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो पुरानो घर भत्किँदा एक ६ वर्षीय बालकको च्यापिएर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय गौतम माझीका छोरा अरुण माझी रहेका छन् । उनी चन्द्रनगर गाउँपालिका–६ कामद टोलस्थित नबिन सिंहको दुईतले पुरानो पक्की घरको आँगनमा खेलिरहेका बेला घर भत्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अपराह्न करिब साढे ४ बजे घर अचानक भत्किँदा अरुण माझी सोही संरचनाले च्यापिएर घटनास्थलमै ज्यान गएको हो ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहित उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भत्किएको संरचना हटाउने काम तीव्र बनाएको छ भने अन्य कोही व्यक्ति पनि च्यापिएको हुन सक्ने आशंकामा थप खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
घटनास्थल प्रहरी चौकी नाढीमनबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।