पर्साको पोखरिया नगरपालिकाले साउन १ गतेदेखि करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूलाई हटाएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् । जागिरबाट हटाइएका ती कर्मचारीहरूले नगरपालिकाले गैरकानुनी रूपमा नियुक्तिपत्र दिँदा असुल गरिएको रकम फिर्ता गर्नुपर्ने, कामबापतको एक वर्षको तलब भत्ता उपलब्ध गराउनुपर्ने माग राख्दै चार बुँदे ज्ञापनपत्र सहित विरोधको कार्यक्रम अघि बढाएका छन् ।
बिहीबार राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य निजामुद्दिन समानीको नेतृत्वमा पीडित कर्मचारीहरूको टोलीले पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानलाई ज्ञापनपत्र बुझाएका हुन् ।
‘रोजगारी’को नाममा ठगी, ‘काम’को नाममा श्रम शोषण
आन्दोलनरत कर्मचारीहरूका अनुसार उनीहरूलाई नगरपालिका र कर्मचारीहरूकै संलग्नतामा रोजगारीको नाममा ठूलो रकम असुली नियुक्ति दिइएको थियो । नियुक्तिपछि उनीहरूलाई नगर प्रहरी, स्वास्थ्य चौकी, वडा कार्यालय लगायतकाे काममा नियमित रुपमा लगाइएको थियो । तर, एक वर्षसम्म तलब र कुनै सुविधा विना काम गराइएपछि अहिले जागिरबाट हटाइएको छ ।
ज्ञापनपत्रमा उठाइएका चार बुँदे मागहरू
१) नियुक्तिपत्र दिने क्रममा गैरकानुनी रूपमा लिइएको रकम फिर्ता गर्नु पर्ने ।
२) जागिर अवधिभर काम गरेका कर्मचारीहरूलाई बक्यौता तलब भत्ता उपलब्ध गराउनु पर्ने ।
३) आगामी दिनमा प्रक्रिया पूरा गरी योग्य बेरोजगार युवालाई प्राथमिकताका साथ रोजगारी दिनु पर्ने ।
४) पछिल्लो समय नगरपालिकाले बढाएको सम्पत्ति कर खारेज गर्नु पर्ने ।
महिनाभित्र माग पूरा नभए सशक्त आन्दोलनको चेतावनी
ज्ञापनपत्र बुझाउँदै आन्दोलनरत पक्षले माग एक महिनाभित्र पूरा नभए नगरपालिकाविरुद्ध भण्डाफोर अभियान र चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
उनीहरूले पोखरिया नगरपालिकाले जनताको आवाजप्रति बेवास्ता गरेको र बेरोजगार युवाको भावनासँग खेलवाड गरेकाे आरोप समेत लगाएका छन् ।
भिडियाे सामाग्री