मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसमा गम्भीर बन्दै गएको पानी संकट समाधानका लागि दीर्घकालीन रूपमा पानी पुनः भरण योजना अनिवार्य भएको बताएका छन् ।
बिहीबार सिराहाको लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले भूगर्भीय पानीको सतह तीव्र गतिमा घट्दै गएकाले डिप बोरिङ मात्र समाधान नभएको स्पष्ट पारे । उनले भने, “जहाँ ठुलो डिप बोरिङ गाडिन्छ, त्यस वरपरका बस्तीमा पानी सुक्ने समस्या देखिन थालेको छ । जमिनबाट लगातार पानी निकालिन्छ, तर पुनः सोस्ने वातावरण छैन ।”
मुख्यमन्त्री सिंहले वर्षाको पानीको अधिकतम उपयोग गर्न ‘रेनवाटर हार्वेस्टिङ’ प्रणाली अपनाउनुका साथै जमिनले पानी सोस्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार अहिले बनेका सडक, ढल र नालाहरू सबै सिमेन्टेड भएका कारण वर्षाको पानी जमिनमा पस्यो भनेर सोच्नै नसकिने अवस्था छ । “पानी सडकबाट नालामा, त्यसपछि खोलामा पुग्छ, तर जमिनसम्म टच हुँदैन । जसका कारण भूमिगत जल पुनः भरण प्रक्रिया अवरुद्ध भएको छ,” उनले भने ।
मुख्यमन्त्री सिंहले पानी संकट समाधान चुरे क्षेत्रको संरक्षणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् । “चुरे क्षेत्र तराईका लागि पानीको मुटु हो । त्यहाँको वनस्पतिले पानी रोक्छ र बिस्तारै जमिनमा पठाउँछ । तर अनियन्त्रित दोहन, फँडानी र उत्खननले त्यो प्रक्रिया समाप्त पारिरहेको छ,” उनले चिन्ता व्यक्त गरे ।
सिंहले स्थानीय तहलाई घर नक्सा पास गर्दा रेनवाटर हार्वेस्टिङ अनिवार्य गर्न, रिचार्ज पोखरी निर्माण, र सिमसार क्षेत्र संरक्षण अभियानका रूपमा अघि बढाउन आग्रह गरे ।
उनका अनुसार, यस वर्ष मधेसलाई सुक्खा प्रदेश घोषणा गरिसकिएको छ । “पचास प्रतिशतभन्दा कम रोपाइँ भएको छ, भूजलको सतह घटेको छ र जमिनको क्षयीकरणले भविष्यमा मरुभूमिकरणको खतरा निम्त्याउन सक्छ,” मुख्यमन्त्री सिंहको चिन्ता थियो ।