वीरगंज । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–३, झौवामा मधेश प्रदेश सरकारको सहयोगमा जडान गरिएको पावरड्रिल बोरिङको उद्घाटन गरिएको छ ।
सिँचाइ सुविधा विस्तारका लागि स्थापना गरिएको उक्त बोरिङको उद्घाटन जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले शुक्रबार गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष सर्राफले बोरिङ खडेरीको समयमा किसानका लागि सञ्जीवनी सावित हुने दाबी गरे । करिब २०० बिगाहा खेतमा सिँचाइ गर्न सक्ने क्षमताको बोरिङले दीर्घकालीन सिँचाइ समस्याको समाधान र कृषि उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
उनले जनमत पार्टी किसानको हकहितका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै, पार्टीको स्थापना नै किसान आन्दोलनको जगबाट भएको स्मरण गराए ।
उद्घाटन कार्यक्रममा जनमत पार्टीकी केन्द्रीय सदस्य अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनारायण मिश्र, बिन्दवासिनी पालिकाका अध्यक्ष विनोद (ललन) चौरसिया, वडा अध्यक्ष रामबाबु चौरसिया, किसान जनमत संघका जिल्ला संयोजक विनोद कुशवाहा, वीरगंज महानगर संयोजक सञ्जय सिंह, लोकेश कर्ण, सञ्जय सर्राफ, देव यादव लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी स्थानीय किसानहरूले सिँचाइको सुविधा बढेपछि बालीमा नोक्सानी कम हुने र उत्पादनमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।