जनकपुरधाम | मधेश प्रदेशमा देखिएको विकराल पानी संकटको सन्दर्भमा पाँच विपक्षी दलले मुख्यमन्त्री सतीशकुमार सिंहलाई संयुक्त रूपमा १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शुक्रबार मुख्यमन्त्री सिंहलाई भेटी बुझाइएको उक्त पत्रमा प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन योजना नल्याएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ । विपक्षी दलहरूले सिँचाइको तत्काल प्रबन्ध, कृषकलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारसँग पहल गर्नुपर्ने, र न्यायोचित मलखाद वितरण सुनिश्चित गर्नुपर्ने जस्ता माग राखेका छन् ।
ध्यानाकर्षण पत्रमा वीरगञ्जलगायतका क्षेत्रमा खानेपानीको अविलम्ब व्यवस्था, दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रको संरक्षण, जलाशय निर्माण, र बोरिङ जडानमा पालिकाहरूलाई वञ्चित नगर्नु पर्ने विषयसमेत उल्लेख छन् ।
त्यस्तै, कृषकहरूलाई २ बिघासम्मको लालपुर्जाको प्रतिलिपि बुझाउनु पर्ने झन्झटिलो प्रावधान हटाउन, सतही सिँचाइको व्यवस्थापन गर्न, कृषि यन्त्र र सामग्रीहरू विशेष अनुदानमा उपलब्ध गराउन, र डिप ट्युबेल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
विपक्षी दलहरूले मलखाद वितरणमा सरकारमा रहेका पार्टीका प्रतिनिधि र विचौलिया दलालहरूको प्रभाव रहेको आरोपसमेत पत्रमा उल्लेख गरेका छन् ।
उक्त ध्यानाकर्षण पत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका नेता युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेल, राप्रपाका कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारी तरन्नुमका हस्ताक्षर छन् ।