वीरगंज | पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका–२ सुर्जाहामा परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, परालको थुप्रोबाट ४० केजी गाँजा फेला पारिएको हो । शुक्रबार दिउँसो पराल निकाल्ने क्रममा परालधनीले गाँजाको तीन वटा पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको हो । तीनवटा पोकामा राखिएको ४० केजी गाँजा परालको थुप्रोभित्र लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एसपी मिश्रले गाँजा बेवारिसे अवस्थामा फेला परेको र कसले र किन राखेको भन्नेबारे हालसम्म खुल्न नसकेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा परीक्षण गरी कानुनी प्रक्रिया अनुसार नष्ट गरिने जानकारी पनि एसपी मिश्रले दिए ।