सप्तरीको राजविराज नगरपालिका–११ झल्हीमा १५ वर्षीया दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
बुधबार साँझ चार जनाको समूहमा आएका युवाहरूले ती बालिकालाई घरअगाडि उभिरहेकै अवस्थामा जबरजस्ती उठाएर लगेका थिए । छिमेकीले खबर गरेपछि बालिकाको परिवारले खोजी थालेका थिए । भोलिपल्ट बिहान आरोपीमध्ये एक जना १९ वर्षीय राजु यादव देखिएपछि उनलाई समातेर सोधपुछ गर्दा घटनाबारे खुलासा भएको पीडित परिवारले जनाएको छ । बालिकालाई लुकाएर राखिएको घरबाट उद्धार गरिएको थियो भने यादवलाई प्रहरीको जिम्मा लगाइएको छ ।
पीडितका दाजुका अनुसार राजु यादव र १८ वर्षीय विवेक यादवले सामूहिक बलात्कार गरेका थिए भने अन्य दुई जना घटनामा संलग्न थिए । "बहिनीले चारै जनाले भूमिका खेलेको बताइन्," उनले भने, "तर अहिले स्थानीय नेताहरु मिल्न दबाब दिइरहेका छन् ।"
पीडित पक्षका अनुसार बिहीबारदेखि नै मिलापत्रको दबाब दिइएको छ । शुक्रबार बिहान वडा अध्यक्ष उतिदनारायण यादवको उपस्थितिमा स्थानीय स्वास्थ्य चौकीमा पञ्चायती गरिँदै पीडित पक्षलाई एक लाख रुपैयाँ लिएर मिल्न सुझाव दिइएको थियो । "जाहेरी दिन पनि निस्किन नदिइएको, घरमै आएर धम्की दिइरहेकाे," पीडित परिवारले बताए । वडा अध्यक्ष यादवले भने आफूले कसैलाई मिलाउन दबाब नदिएको दाबी गरेका छन् । "म मल वितरण गर्न गएको थिएँ, छलफल भइरहेको देखेँ," उनले भने, "गल्ती गर्ने जोकोहीलाई कानुनी कारबाही हुनुपर्छ भन्ने मेरो धारणा हो ।"
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ । घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने सप्तरी प्रहरीले जनाएको छ ।