चितवन | नेपाल आयल निगमले चितवनको लोथरमा करिब १४ अर्ब ९ करोड ६० लाख रुपैयाँको लागतमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनसहित अत्याधुनिक भण्डारण गृह निर्माण सुरु गरेको छ ।
राप्ती नगरपालिका–१ स्थित २३ बिघा १२ कठ्ठा क्षेत्रफलमा बन्ने ग्रीन फिल्ड टर्मिनल निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । परियोजना अन्तर्गत बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्मको ६२ किलोमिटर दुरीमा १०.७५ इन्च व्यासको पाइपलाइन बिछ्याइनेछ ।
शुक्रबार आयोजित कार्यक्रममा लोथरस्थित जग्गा परिसरमा कार्यालय स्थापना गरी परियोजनाको औपचारिक सुरुवात गरिएको हो । परियोजना प्रमुख इञ्जिनियर प्रदीपकुमार यादवका अनुसार सम्पूर्ण कागजी प्रक्रिया सकिएको छ र अब सडक निर्माण, समन्वय तथा निर्माण कार्य तीव्र गतिमा अघि बढाइनेछ ।
भारतको सहयोगमा पाइपलाइन, नेपालले बनाउने भण्डारण गृह
यस परियोजनाका लागि इन्डियन आयल कर्पोरेसन (IOC) र नेपाल आयल निगमबीच २०८१ असोज १७ गते बी-टु-बी सम्झौता भएको थियो। सम्झौता अनुसार पाइपलाइन निर्माणको लागत IOC ले बेहोर्नेछ भने लोथर डिपोको निर्माणमा आयल निगमले लगानी गर्नेछ ।
निगमका सहायक प्रबन्धक अनुपम पराजुलीका अनुसार पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टा इन्धन आपूर्ति सम्भव हुनेछ । साथसाथै, पाइपलाइनमा सधैं ३,२०० किलोलिटर इन्धन भण्डारण रहने व्यवस्था गरिनेछ। वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने क्षमताको पाइपलाइन रहने जनाइएको छ ।
लोथर डिपोमा के–के बनाइनेछ ?
- ११,००० किलोलिटर क्षमताका ३ वटा पेट्रोल ट्यांकी
- १५,५०० किलोलिटर क्षमताका ३ वटा डिजेल ट्यांकी
- ८०० किलोलिटर क्षमताका २ वटा मट्टितेल ट्यांकी
- ३,६०० किलोलिटर क्षमताका ३ वटा हवाई इन्धन ट्यांकी
- २ वटा ट्रान्समिक्स ट्यांकी
- कुल भण्डारण क्षमता: ९१,९०० किलोलिटर
वातावरणमैत्री र आधुनिक परियोजना
पाइपलाइन प्रविधिबाट इन्धन ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून, चोरी तथा मिसावट कम हुने अपेक्षा गरिएको छ । परियोजनाले स्थानीय स्तरमा रोजगारी, आयआर्जन तथा आर्थिक क्रियाकलापमा वृद्धि गर्ने विश्वास गरिएको छ।
राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले यस परियोजना चितवनको गौरव भएको बताउँदै आर्थिक र सामाजिक समृद्धिमा ठूलो योगदान पुर्याउने बताए ।
यसअघि भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ६९ किमि अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालमा सञ्चालनमा आएको थियो । त्यस परियोजनाबाट पनि हाल पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको छ ।