रौतहट | रौतहटको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजे आगलागी भएको छ ।
केराका परिकार मात्र पाइने विशेषतासहित सञ्चालित सो रिसोर्टमा भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बनाना रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार आगोले रिसोर्टमा रहेका सम्पूर्ण फर्निचर, फ्रिज, कृषिमा प्रयोग हुने मेसिन, खाद्यान्नसहितका सामग्री जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
जलेका सामग्री कामै नलाग्ने अवस्थामा पुगेकोले कम्तीमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।
आगलागीको जानकारी पाउनेबित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल टोली र स्थानीयवासी घटनास्थलमा पुगेका थिए ।
सहकार्यमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हाल आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यद्यपि प्रारम्भिक अनुमान अनुसार बिजुली सर्टका कारण आगलागी भएको हुनसक्ने जनाइएको छ ।