जनकपुरधाम | मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति कडा असन्तुष्टि जनाउँदै निर्माण कम्पनीलाई स्पष्ट चेतावनी दिएका छन् । शनिबार आयोजना स्थलको स्थलगत निरीक्षणपछि उनले भने, “जुन गतिमा अहिले काम भइरहेको छ, यसरी त १० वर्षमा पनि आयोजना सकिँदैन ।”
मुख्यमन्त्री सिंहले आयोजनामा देखिएको कमजोरीका विषयमा संघीय सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी पनि दिए ।
“हामीले अब स्थलगत रूपमा सबै कुरा बुझेका छौँ। प्रदेश सरकारको तर्फबाट प्रतिवेदन तयार पारेर संघ सरकारलाई बुझाउनेछौँ,” – सिंह निरीक्षण टोलीमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, मुख्य सचिव मदन भुजेललगायत अधिकारीहरु सहभागी थिए ।
🔧 निर्माणमा सुस्तता, प्रगति ३७ प्रतिशतभन्दा कम
आयोजना प्रमुख अच्युतराज गौतमका अनुसार सुरुङ खण्डको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले सम्झौताभन्दा अगावै सम्पन्न गरे पनि मुख्य ठेकेदार पटेल रमण जेभी कन्स्ट्रक्सनले सम्झौताअनुसारको आधा समय बितिसक्दासमेत जम्मा १० प्रतिशत मात्र काम गरेको छ ।
🗣 मन्त्रीहरूको कडा सन्देश
ऊर्जा मन्त्री शेषनारायण यादवले आयोजना मधेसका कृषकहरूका लागि जीवनरक्षा जस्तै भएको बताउँदै यसमा ढिलाइ असह्य हुने स्पष्ट पारे ।
“लाखौँ कृषकको भविष्य यस आयोजनासँग गाँसिएको छ। अब ढिलाइ सह्य हुने छैन,” – यादव भौतिक पूर्वाधार मन्त्री सरोज यादवले निर्माणको गुणस्तरमा सम्झौता नहुने र कम्पनीले अब सचेत भएर काम अघि बढाउनुपर्ने बताए ।
🌧 निर्माण कम्पनीको जस्टिफिकेसन
ठेकेदार कम्पनी पटेल रमण जेभी कन्स्ट्रक्सनका प्रतिनिधि नवीन चौधरीले निरन्तर वर्षा, माटोको बनावट, स्थानीय बासिन्दाको माग तथा सामाजिक–राजनीतिक कारणले काम ढिलो भएको बताए।
“पहिला केही समय निर्माण रोकिएको थियो, अब वर्षा सकिएपछि तीव्र गतिमा अघि बढ्छौँ,” – चौधरी
💰 लागत र खर्च
कुल लागत ५० अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनामा अहिलेसम्म १९ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।
त्यसमध्ये १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ। तर हालसम्मको भौतिक प्रगति ३६.८३ प्रतिशत मा सीमित छ ।