लामो समयसम्म पानी नपर्दा चिन्तित बनेका किसानहरूलाई गएराति परेको वर्षाले केही राहत दिएको छ । पानीको अभावका कारण झण्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा आएको वर्षाले किसानहरूलाई आशा दिएको हो ।
यहाँका किसानहरूका अनुसार पानीको अभावमा खेतहरू सुकेका थिए भने बीउहरू पहेँलिएका थिए र धान रोप्न पनि कठिन भएको थियो । लहान–१८ का किसान वीरेन्द्र चौधरीले भने, “पहिले पहेँलिएका बीउ रोप्न पाउने आशा जागेको छ, यद्यपि अझै पर्याप्त पानीको अभाव छ ।”
लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवका अनुसार गएराति परेको पानी पर्याप्त भने छैन । “यदि एक दिन निरन्तर पानी परेको भए रोपाइँ सहज हुन्थ्यो,” उनले भने, “तर आजको मौसम हेर्दा त्यस्तो सम्भावना देखिँदैन ।”
सिहकाको दक्षिणी भू–भागमा भूमिगत पानीको प्रयोग गरेर रोपाइँ गरिए पनि उत्तरी भेगका अधिकांश किसानहरूले भने रोपाइँ गर्न सकेका थिएनन् । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार गत शुक्रबारसम्म जिल्लामा झण्डै ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
मधेसमा मनसुन सक्रिय, तर पर्याप्त वर्षा छैन
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरिरहेको छ । यसका कारण केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । तर, यो प्रणाली लामो समय भारततर्फ सक्रिय भएकाले मधेस क्षेत्रमा सुख्खा स्थिति कायम छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा मधेसका विभिन्न स्थानमा निम्न वर्षा मापन गरिएको छ :
- सिरहा: ९९.४ मिलिमिटर
- सप्तरी (बरमझिया): ९१.८ मिलिमिटर
- लहान: ७७.२ मिलिमिटर
- धनुषा (हर्दिनाथ): ४७ मिलिमिटर
- चिसापानी: ६८.२ मिलिमिटर
- सिरहा (गोलबजार): ५२.२ मिलिमिटर
- महोत्तरी (गौशाला): ५७.६ मिलिमिटर
- धनुषा (तुलसी): ४७.६ मिलिमिटर
- सर्लाही: ४८ मिलिमिटर
बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ।
सिरहा लगायतका तराई जिल्लाहरूमा बाँकी खेतमा धान रोपाइँ गर्न अझै केही दिन निरन्तर पानी पर्ने आवश्यक देखिएको छ । किसान, कृषि कार्यालय र मौसम विभाग सबैको नजर आसन्न दिनका मौसम पूर्वानुमानमा केन्द्रित छ ।