महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशस्तरीय पूर्ण बैठक महोत्तरीको बर्दिबासमा आइतबार सम्पन्न भएको छ । बैठकमा पार्टीको संगठन सुदृढीकरण अभियान, पदपूर्ति, प्रशिक्षण कार्यक्रम लगायतका विषयमा छलफल गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकको कार्यसूचीमा जिल्लागत प्रगति विवरण, संगठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रम तय गर्ने, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सञ्चालन गर्ने, हस्ताक्षर अभियान सञ्चालन गर्ने र बारा तथा सप्तरी जिल्ला समितिबारे आएका गुनासोहरुमाथि छलफल गरिने विषय समेटिएका थिए ।
बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल रहेका थिए । त्यस्तै, मधेस प्रदेश इन्चार्ज एवं पार्टी प्रवक्ता सांसद मनिष झा, सांसद प्रा. डा. चन्दा कार्की, केन्द्रीय सदस्य डा. नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
रास्वपाले मधेस प्रदेशमा पार्टी संरचना सुदृढ बनाउन र जनसरोकारका मुद्दामा सक्रियता बढाउन यो बैठकलाई महत्त्वपूर्ण ठहर गरेको छ ।