खोटाङ | हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ फर्किंदै गरेको यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको उक्त माइक्रोबस आज बिहान करिब ९ बजे मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने यात्रुहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माइक्रोबस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।
बाकी ८ जना घाइतेको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार ती घाइतेहरूको अवस्था सामान्य बन्दै गएको छ ।
दुर्घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।