काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा आयोजित २९औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबम संस्कृति हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थाको प्रतीक भएको बताए ।
“बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो,” मन्त्री यादवले भने, “बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ ।”
कार्यक्रममा मन्त्री यादवले धार्मिक, पर्यटकीय तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन सबै तह र तप्काको साझा जिम्मेवारी रहेको उल्लेख गरे । यस्ता धार्मिक र सांस्कृतिक आयोजनाहरूले सामाजिक चेतना र राष्ट्रिय पहिचान सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे ।
उनले हिन्दुहरूको धार्मिक आस्था भगवान् पशुपतिनाथसँग जोडिएको उल्लेख गर्दै बोलबम काँवर यात्रीहरूले पशुपतिनाथमा जल चढाउने परम्परा धर्म र संस्कृतिको प्रतीक भएको बताए ।
त्यस अवसरमा उनले सोमबारका दिन काँवर यात्रीहरूले सहज रूपमा पशुपतिनाथमा जल चढाउन सक्ने व्यवस्था मिलाउन आफुले पशुपति क्षेत्र विकास कोष, पर्यटनमन्त्री तथा सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।