सर्लाही | जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरी प्रशासनले प्रतिशोध साँध्दै झुटा मुद्दा लगाएको गम्भीर आरोप लगाएका छन् ।
आइतबार सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई फोनमा अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको तथा मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे ।
“मैले पूर्वाधार विकास कार्यालयमा भइरहेको अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर मलाई फोनमा ‘साले’ भने। त्यो आवाज रेकर्ड मसँग सुरक्षित छ, आवश्यक परे फरेन्सिक परीक्षण गरौँ,” उनले भने ।
यादवले आफूमाथि लगाइएको ‘आपराधिक उपद्रव’ को मुद्दा नियोजित र कपोकल्पित भएको दाबी गर्दै राज्य संयन्त्र आफूमाथि क्रूर ढंगले प्रयोग गरिएको आरोप लगाए । “राति १२ बजे प्रहरीले मेरो घरमा आएर छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्यो। के प्रहरी नागरिकको सुरक्षाका लागि हो कि डकैतीका लागि?” उनले आक्रोश व्यक्त गरे ।
पत्रकार सम्मेलनमा यादवले आफू मधेसी भएकै कारण राज्य संयन्त्रको शिकार भएको आरोपसमेत लगाए। “यदि म पहाडी समुदायको हुन्थें भने यति ठूलो घटना हुँदा सम्बन्धितमाथि कारबाही भइसक्थ्यो,” उनले भने ।
पक्राउ पूर्जी जारी भएपछि ‘फरार’ भएको भन्ने आरोपको खण्डन गर्दै यादवले आफू छोराको उपचारका लागि बाहिर गएको बताए। “एउटा अशोक यादवलाई दबाएर हजारौँ अशोक यादव जन्मिन्छन्,” उनले चेतावनी दिए ।
यादवले आफ्नो संघर्ष व्यक्तिगत नभइ मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्रविरुद्ध भएको उल्लेख गर्दै जनआन्दोलनको संकेतसमेत दिए। “अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै संघर्ष आवश्यक छ,” उनले भने ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा राति अबेरसम्म काम भइरहेका बेला अनियमितता भएको भन्दै जसपा नेता यादव र एसपी खड्काबीच फोनमा चर्काचर्की भएको थियो । सोही घटनापछि प्रहरी यादवलाई पक्राउ गर्न उनको घर पुगेको थियो, तर स्थानीयबासीले प्रहरीको गाडीमा तोडफोड गरेका थिए ।
प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पूर्जीसमेत जारी गराएको छ ।
यता, जसपासहित सर्लाहीका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । उनीहरूले एसपी खड्कामाथि कारबाही गर्नसमेत सरकारसँग माग गरेका छन् ।