जनकपुरधाम | पछिल्ला तीन दिनदेखि लगातार वर्षा भएपछि मधेस प्रदेशका किसानहरूले ढिलो भए पनि धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावका कारण साउनको दोस्रो हप्तासम्म मधेस प्रदेशमा ५० प्रतिशतभन्दा कम मात्र धान रोपाइँ भएको थियो भने अहिले वर्षापछि धान रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवका अनुसार पानी परेपछि प्रदेशका आठै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको छ । बारा र पर्सा जिल्लामा भने धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा रोपाइँ निरन्तर जारी छ ।
लामो समय पानी नपरेपछि मधेस प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत किसानहरूलाई खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ । कृषि निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
सामान्यतया साउनको दोस्रो हप्तासम्ममा धानको रोपाइँ सकिने भए पनि यसपटक पानी नपरेकाले रोपाइँ ढिला भएको हो । मधेस प्रदेशका जिल्लाहरूमा नदी, नहर, डिप ट्युबबेल, बोरिङ र स्यालो ट्युबबेलमार्फत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ भने करिब ६५ प्रतिशत खेत आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ ।