सप्तरी | सप्तरी प्रहरीले लुटपाट र हत्या घटनामा संलग्न एक फरार अभियुक्तलाई आइतबार राति गोली प्रहार गर्दै पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति डाक्नेश्वरी नगरपालिका–८ औरही निवासी २८ वर्षीय दीपक मरिक हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार मरिकलाई पक्राउ गर्न खोज्दा उनी प्रहरीलाई देख्नासाथ भाग्न खोजेपछि चार राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि डाक्नेश्वरी नगरपालिका–५ बाट राति साढे १० बजे पक्राउ गरिएको हो ।
डिएसपी बस्नेतले भने, “जघन्य अपराधका घटनामा संलग्नता देखिएका मरिकलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएका हौं । लुटपाट र हत्या घटनासँग उनको सीधा संलग्नता देखिएको छ । आजै पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिनेछ ।”
गत जेठ २२ गते राति सुरुङ्गा नगरपालिका–८ मल्हन टोलमा अज्ञात समूहले लुटपाटपछि स्थानीय ५० वर्षीय कान्तलाल चौधरी र उनका भाइ ४० वर्षीय रामकान्त चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए । कान्तलालको घटनास्थलमै मृत्यु भएको थियो भने समूहले ५०/६० हजार रुपैयाँ नगद, पाँच तोला सुन, दुई किलो चाँदी र अन्य सामाग्री लुटेर फरार भएको थियो ।
घटनापछि प्रहरी अनुसन्धानमा जुटेको थियो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिम प्राप्त कुकुर (जंगे) को सहयोगमा प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको र घटनासँग सम्बन्धित अन्य केही व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।