तराईसहित देशभरका विभिन्न भागमा तीन दिनदेखि परिरहेको निरन्तरको वर्षाले किसानलाई ठूलो राहत मिलेको छ । असार महिनाभर पानी नपरेपछि मधेस प्रदेशका अधिकांश जिल्लामा रोकिएको धान रोपाइँ फेरि तीव्र रूपमा सुरु भएको हो ।
विशेष गरी मधेस प्रदेशका आठ वटै जिल्लामा असार महिनामा वर्षा नहुँदा धान रोपाइँ ५० देखि ६० प्रतिशत मात्र हुन सकेको थियो। तर हालै परेको निरन्तरको वर्षाले खेतमा पर्याप्त मात्रामा पानी जम्दा बाँकी रहेको रोपाइँको काम पुनः सुरु भएको छ ।
लामो समय वर्षा नपरेपछि केही साता अघि सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यससँगै कृषि ज्ञान केन्द्रमार्फत सिचाइ सुविधा विस्तार गर्न स्यालो ट्युबवेल र डिप बोरिङ जडान गर्ने कार्यलाई तीव्रता दिइएको छ।
बारामा कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेल जडानका लागि सार्वजनिक सूचना पनि जारी गरिसकेको जानकारी दिँदै केन्द्रका निम्ति कार्यालय प्रमुख राजनारायण प्रसाद साहले किसानलाई राहत पुर्याउने पहल भइरहेको बताए ।
वर्षाले समयमै धान रोपाइँ गर्न पाउँदा किसानहरू उत्साहित भएका छन् । किसानहरूका अनुसार यदि अझ केही दिन यस्तै वर्षा भएमा रोपाइँको काम समयमै सम्पन्न हुनेछ भन्ने अपेक्षा गरिएको छ ।