हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेकाले देशभर बदलीको अवस्था कायम रहेको छ ।
विभागले आज (मंगलबार) दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले चेतावनी दिएको छ ।
आज रातिसमेत देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा राति पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।