काठमाडौं | एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेड टिमले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । टिमले बुधबार सार्वजनिक गरेको लोगोमा मधेशको सांस्कृतिक सम्पदा, खेल भावना र क्षेत्रीय पहिचानलाई समेटिएको जनाइएको छ ।
लोगोमा प्रमुख रूपमा हरियो रङ प्रयोग गरिएको छ, जसले खेलकुद, संस्कार र मधेशी गर्वलाई प्रतिविम्बित गर्छ । लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको प्रतिस्पर्धात्मक भावना झल्काउँछ। वरिपरिका लहरहरू गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीकका रूपमा राखिएका छन् ।
लोगोको माथिल्लो भागमा जानकी मन्दिरबाट प्रेरित मन्दिरको आकृति राखिएको छ, जसले मधेशको सांस्कृतिक र धार्मिक पहिचानलाई जनाउँछ । टिमका अनुसार यो लोगो खेलकुद र संस्कृतिको संयोजन भएको छ, जसले महिला भलिबलको पहिचानसँगै मधेशको गौरवलाई जोड्ने लक्ष्य राखेको छ ।
टिम विवरण
मधेश युनाइटेड टिममा निरुता ठगुन्ना मार्की खेलाडीका रूपमा अनुबन्धित छिन् । अन्य खेलाडीहरूमा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, स्नेहा ठगुन्ना, उषा विस्ट, बबिता बोहोरा र बसन्ती साउद छन् ।
टिमको प्रशिक्षक कोपिला उप्रेती रहेकी छिन् भने नीति शाहलाई ब्रान्ड एम्बेसडरको जिम्मेवारी दिइएको छ ।
इडब्लुभीएलको दोस्रो संस्करण भदौ महिनामा आयोजना हुने तयारीमा छ भने खेलाडी अक्सन प्रक्रिया पनि सकिएको छ ।