वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाँस्थित एक सडक निर्माण योजनामा मेयर राजेशमान सिंहको हस्तक्षेप भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सडक निर्माण स्थलमै पुगेर छानबिन सुरु गरेको छ ।
वडा अध्यक्ष मनोज राउत कुर्मीका अनुसार भिखम महतो कोईरीको घरदेखि शिव प्रसाद साह सोनारको घरसम्मको सडक निर्माणका लागि आर्थिक वर्ष २०८१/८२ को रेडबुकमा ३२ लाख रुपैयाँको बजेट छुट्याइएको थियो । उपभोक्ता समिति गठन भई कार्यादेश समेत प्राप्त भइसकेको अवस्थामा मेयर सिंहले नगर प्रहरी, आफ्ना भतिज, कार्यकर्ता सहितको टोली खटाएर निर्माण कार्य रोकाएका थिए ।
रेडबुकमा ६ इन्चको ढलान, तीन सुताको रड, नाला तथा नालामाथि ढकन सहितको प्राविधिक मूल्याङ्कन अनुसारको संरचना निर्माण हुने योजना थियो । तर, वडा अध्यक्षको दाबी अनुसार मेयर सिंहले सोही सडकका लागि ५५ लाख रुपैयाँ आपतकालीन बजेटमा राखी अर्को उपभोक्ता समिति गठन गरी पुनः कार्यादेश दिलाएका छन् । यस क्रममा प्राविधिक मापदण्ड विपरीत ब्लक प्रयोग गरेर नाला निर्माण गराइएको छ ।
“३२ लाखमा सम्पन्न हुनुपर्ने काममा २३ लाख बढी खर्च देखाएर आफ्ना निकटस्थ र आफन्त मार्फत मनपरी ढंगले निर्माण गरिएको हो,” वडा अध्यक्ष कुर्मीले भने, “घर अगाडि र ट्याक्टर –टिपर आवतजावत हुने बाटोमा समेत गुणस्तरहीन ब्लक प्रयोग गरेर दीर्घकालीन प्रयोगका लागि खेर जाने अयोग्य सडक संरचना बनाइएको छ।”
स्थानीय बासिन्दाका अनुसार वडामा भइरहेको योजना कुन उपभोक्ता समितिबाट सञ्चालन भइरहेको हो भन्ने बारे जानकारी नै छैन । एक स्थानीयले भने, “अख्तियारको टोली आएर योजनाको नाप – नक्सा, कामको प्रकृति र गुणस्तर परीक्षण गर्दै गएको छ ।” वडा अध्यक्ष कुर्मीले मेयर सिंह ‘कमाउने धन्दामा’ लागेको आरोप लगाउँदै वडा नम्बर १ मा हुने विकास योजनामा निरन्तर अवरोध पुर्याउँदै आएको दाबी गरेका छन् ।
यस विषयमा बुझ्न खोज्दा मेयर सिंहले फोन उठाएनन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक तथ्य संकलनपछि आवश्यक परेमा सम्बन्धित व्यक्तिहरूलाई बयानका लागि बोलाउने जनाएकाे छ ।
सम्बन्धित समाचार
मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
भिडियाे सामाग्री