जनकपुरधाम | मधेश प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमणबाट हालसम्म एक हजार सात सय भन्दा बढी पशुचौपाया मृत्यु भएका छन् । प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पी स्किनबाट कुल ५२ हजार ६८६ वटा पशु सङ्क्रमित भएका छन् भने तीमध्ये २३ हजार ७०९ वटा पशुलाई उपचारपछि निको पारिएको छ ।
लम्पी स्किन रोगले प्रभावित पशुहरूमा ज्वरो आउने, शरीरमा घाउ खटिरा देखिन थाल्ने, र घाँस तथा पानी खान अस्विकार गर्ने लक्षण देखा पर्ने मन्त्रालयले जनाएको छ । रोगको रोकथामका लागि खोप अभियान पनि प्रदेशभर सञ्चालन गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म दुई लाख ४५ हजार भन्दा बढी पशुलाई खोप लगाइएको छ । यसमध्ये दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत र धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई स्थानीय तहमार्फत खोप दिइएको छ ।