जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई कानुनी कारवाही गर्नुपर्ने मागसहित पत्रकारहरू आन्दोलित भएका छन् ।
आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेट अगाडि नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरूले धर्ना कार्यक्रम सञ्चालन गरेका हुन् । धर्नामा सहभागीहरूले “आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” भन्ने नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
गत साउन २७ गते नेपाल पत्रकार महासंघले गुठी संस्थानबाट कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।
सो क्रममा महासंघ प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।
पत्रकार महासंघले आक्रमणमा संलग्न वकिलहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकार र प्रशासनलाई चेतावनी दिएको छ ।
भिडियाे सामाग्री