काठमाडौँ | नेपाल विद्युत प्राधिकरणको नाफा आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार सो वर्ष नाफा ९ अर्ब ६ करोड ७० लाख पुगेको छ, जबकि २०८०/८१ मा १० अर्ब ५३ करोड थियो ।
कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका बेला प्राधिकरणले उच्च नाफा कमाइरहेको थियो। तर, उनको बर्खास्तपछि नाफामा गिरावट देखिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी येनमा अधिमूल्यन, प्रशासनिक खर्च वृद्धि र औसत विद्युत बिक्री मूल्यमा कमी भएका कारण नाफामा कमी आएको छ । उनले भने, “डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रबोनिजिङ गरेबापत साढे ५ अर्ब नोक्सानी भएको छ। तर आगामी वर्षमा नाफा वृद्धि हुने देखिन्छ ।”
आर्थिक वर्ष २०८१/८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ, जसमा प्राधिकरणअन्तर्गतका सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट, र अन्य कम्पनीहरूको योगदान २९०.५ मेगावाट रहेको छ ।
प्राधिकरणका अनुसार कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।
भिडियाे सामाग्री