नगर अस्पताल बेल्टारमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । शनिबार राति बेलका नगरपालिका–९ का वीरेन्द्र राईले अस्पतालका ‘हेल्थ असिस्टेन्ट’ शिवशंकर शाहमाथि आक्रमण गरेका हुन् n।
आमा महिलाकुमारी राईलाई जलनको समस्या भएपछि शनिबार बेलुका अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा लापरबाही भएको आरोप लगाउँदै छोरा वीरेन्द्रले उपचारमा खटिएका शाहमाथि हातपात गरेका हुन् ।
घटनापछि अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै राईले चिकित्सकमाथि हातपात, गालीगलौज मात्र नभई अस्पतालको भौतिक संरचना समेत तोडफोड गरेको जनाएको छ ।
अस्पतालका अनुसार आपतकालीन वार्डमा उपचार भइरहेका बेला बिरामीका छोराले कैँची, ढुङ्गालगायत अस्पतालभित्र रहेका विभिन्न औजार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेका थिए । अस्पतालले यस्तो घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै, दोषी उपर कानुनी कारबाही नभएसम्म अस्पतालका सबै सेवा बन्द गर्ने चेतावनी समेत दिएको छ ।