जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा उपमहानगरपालिका–१७ तेतरियास्थित निर्माण सम्पन्न भवन नगरप्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको हो । भवन निर्माण कार्य ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा करिब २ करोड २५ लाख रुपैयाँमा सम्पन्न गरिएको हो ।
भवनमा अपाङ्गमैत्री संरचना, प्रयोगशाला, तालिम हल लगायत आधुनिक सेवाका लागि आवश्यक पूर्वाधारहरू समावेश छन् ।
नगरप्रमुख साहले भवनलाई बहुउपयोगी रूपमा प्रयोग गरिने बताएका छन् । उहाँले भन्नुभयो, “यसको प्रयोगले नगरका किसानलाई प्रत्यक्ष लाभ पुग्नेछ । ग्रामीण क्षेत्रको आर्थिक समृद्धि र कृषकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएको यो भवनबाट सेवा प्रवाह अझ प्रभावकारी हुनेछ ।”
वडा १७ का वडाध्यक्ष रामवृक्ष यादवले भने, “यस क्षेत्रका अधिकांश जनता कृषि व्यवसायमा आवद्ध छन् । आधुनिक प्रविधि प्रयोग गरेर उत्पादनमा वृद्धि गर्न यो भवन महत्वपूर्ण आधार बन्नेछ।”
वडा ९ का वडाध्यक्ष परमेश्वर साहले पनि भवनले किसानहरूको जीवनस्तर उकास्न र आयवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासका प्रमुख रविन्द्र महतोले भवनमा तालिम हल, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याबलगायत सम्पूर्ण सुविधा समेटिएको जानकारी दिनुभयो ।
गत वर्ष असारमा नगरप्रमुख साहले शिलान्यास गरेको उक्त भवन निर्माण कार्य करिब एक वर्षको अन्तरालमा सम्पन्न गरी हस्तान्तरण गरिएको हो। निर्माण जिम्मेवारी विजय सिर्जना भगत ग्रुप जेभीले पाएको थियो ।
भवन हस्तान्तरण कार्यक्रममा उपस्थित स्थानीय कृषकहरूले भवन सञ्चालनले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका थिए ।
भिडियाे सामाग्री