रौतहट | यमुनामाई गाउँपालिका–२ का वडाध्यक्ष सीताराम यादवले अनियमितता र भ्रष्टाचारविरुद्ध आमरण अनसन थालेको पाँच दिन भएको छ । गत बुधबारदेखि गाउँपालिका कार्यालय अगाडि १३ बुँदे माग राखेर अनसन सुरु गरेका यादव आइतबारसम्म पनि अनसनमै रहेका छन् ।
अनसनका कारण वडाध्यक्ष यादवको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। स्वास्थ्यकर्मीले उहाँलाई सलाइन पानी दिएर उपचार गराइरहेका छन् ।
यादवले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मका गाउँसभा र कार्यपालिका बैठकका निर्णय, रातोकिताब, सशर्त तथा पूरक अनुदान, विशेष बजेट, स्वास्थ्य, शिक्षा, पूँजीगत राजस्व बाँडफाँट र आर्थिक सहयोग वितरणसम्बन्धी सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन् । साथै सबै खाताको बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदन पनि उपलब्ध गराउनुपर्ने माग पत्रमा उल्लेख छ ।
उनले गाउँपालिकामा कार्यरत स्थायी, करार तथा दैनिक ज्यालादारीका सबै तहका कर्मचारीहरूको नियुक्तिपत्रको प्रतिलिपि, अनलाइन टेन्डर, अनलाइन बैठक र बिडिङ प्रणाली तत्काल लागू गर्नुपर्ने, गाउँपालिकाभरिका विद्यालयमा अंग्रेजी माध्यम शिक्षा प्रणाली सुरु गर्नुपर्ने माग पनि राखेका छन् ।
यस्तै, गाउँपालिकामा रहेका जिन्सी सामानहरूको विवरण, जेसिबी, स्कारपियो, मोटरसाइकल, साइकलमा हालसम्म खर्च भएको इन्धन तथा मर्मत–सम्भार खर्च र जेसिबीको आम्दानीको विवरण पनि सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाभरि स्वास्थ्य बीमा लागू गर्नुपर्ने माग गरिएको छ ।
वडा नं १ देखि ५ सम्म कृषि विद्युतीकरणका लागि पोल, तार र ट्रान्सफर्मरको तत्काल व्यवस्था गर्नुपर्ने, गाउँपालिकाभरि घरायसी विद्युत महसुल निशुल्क गर्नुपर्ने, गाउँपालिका स्तरीय अस्पताल स्थापना गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने व्यवस्था गर्नुपर्ने पनि मागपत्रमा उल्लेख छ ।
त्यस्तै, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा कानुनबमोजिम गर्नुपर्ने, अवैध रूपमा गरिएको नौौँ गाउँसभा खारेज गरी विधिवत रूपमा पुनः सभा गर्नुपर्ने, हालसम्म कसले टीडीए बुझेका छन् र आर्थिक सहयोग कसले पाएका छन् भन्ने विवरण सार्वजनिक गर्नुपर्ने माग पनि यादवको रहेको छ ।
माग पूरा नभएसम्म अनसन जारी रहने वडाध्यक्ष यादवले बताएका छन् ।
भिडियाे सामाग्री