काठमाडौँ । भुटानमा जारी साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग ५-० गोलअन्तरले पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा भारतका पर्ल फर्नान्डेसले ह्याट्रिक गरे भने दिव्यानी लिंडा २ गोल गर्दै विजयी टोलीलाई अग्रस्थान दिलाइन् ।
यसअघि पहिलो खेलमा पनि भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको थियो। नेपालले पाँच खेलमा १ जित मात्र निकालेको छ र उपाधि होडबाट बाहिरिसकेको थियो ।
डबल राउण्ड रोबिन लिगमा हाल भारतले ५ खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा रहेर च्याम्पियन घोषणा भइसकेको छ । बंगलादेश १० अंकसहित दोस्रो स्थानमा छ भने नेपाल ३ अंकसहित तेस्रो र जितविहीन भुटान १ अंकसहित चौथो स्थानमा छ ।
नेपालले यसअघि भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको थियो, तर बंगलादेशसँग तेस्रो र चौथो खेलमा पराजित भएको थियो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन्। प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।
नेपालले अन्तिम खेल आइतबार भुटानसँग खेल्नेछ ।
भिडियाे सामाग्री