पूर्व राष्ट्रपति विद्या देवी भण्डारी आइतबार बाराको सदरमुकाम कलैयामा आउने भएकी छन् । उनी मदन भण्डारी फाउन्डेशन, मधेश प्रदेश कमिटीले आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको फाउन्डेशनका अध्यक्ष राज मोहम्मद रायले जानकारी दिए ।
रायका अनुसार कार्यकर्ता भेटघाट कार्यक्रम बिहान ११ बजे कलैयास्थित दरबार होटलमा सुरु हुनेछ ।
कलैया आउनु अघि भण्डारी शनिबार पर्साको कार्यक्रममा सहभागी भएकी छिन् । उनी सिमरा विमानस्थलमा अवतरण गर्ने क्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । कार्यकर्ताले उनलाई ठूलो माला लगाइदिएर स्वागत गरेका थिए ।
पूर्व राष्ट्रपति भण्डारी वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको ‘बृहत् महिला सम्मेलन २०८२’ मा पनि सहभागी हुँदैछिन् । ‘नारी शक्ति, समर्पण र सम्मान’ भन्ने मूल नारासहित हुन लागेको उक्त कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।