हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारण तथा सरोकारवाला निकायलाई पछिल्लो मौसमी जानकारी लिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।