नेपाल–इन्डिया क्रस बोर्डर कन्क्लेभ शनिबार वीरगन्जमा सम्पन्न भएको छ । सम्मेलनले १६ बुँदे साझा घोषणापत्र जारी गर्दै सीमावर्ती क्षेत्रमा रहेका समस्या उजागर गर्ने, दुवै देशका सरकार र सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्ने र मिडियालाई तथ्यपूर्ण तथा जिम्मेवार बनाउन विभिन्न कार्यसूची अघि सारेको छ ।
घोषणापत्रमा गलत सूचना र दुष्प्रचारबाट पत्रकारितालाई जोगाउने, वैकल्पिक मिडिया, सामाजिक सञ्जाल र एआई प्रयोगमा सचेत रहने, फिल्ड रिर्पोटिङमार्फत सीमावर्ती जनताको वास्तविक समस्या उजागर गर्ने तथा आवश्यक परे संयुक्त रिपोटिङमार्फत नागरिकको हित रक्षाका लागि प्रयत्न गर्ने उल्लेख छ ।
‘मिडिया फर बोर्डर हार्मोनी’ सञ्जालमार्फत दुवै देशबीचको सम्बन्ध सुदृढीकरण गर्ने, द्वन्द्व र वैमनश्य सिर्जना हुने खालका समाचारबाट बच्ने, एक अर्काको देशमा भ्रमण गरी ऐतिहासिक तथा सांस्कृतिक पक्ष बुझ्ने र प्रवर्द्धन गर्ने लगायतका बुँदा पनि घोषणापत्रमा समेटिएका छन् ।
साझा घोषणापत्रमा पत्रकारका लागि संयुक्त सूचना केन्द्र स्थापना गर्ने, साझा हेल्पलाइन सञ्चालन गर्ने, सामुदायिक सञ्चार संस्थालाई सबल बनाउन प्रयास गर्ने, सीमाक्षेत्रका पत्रकारको सीप र दक्षता अभिवृद्धिका लागि तालिम, गोष्ठी र कार्यशाला आयोजना गर्ने, पत्रकारको सुरक्षा र सूचना पहुँचका लागि प्रभावकारी संयन्त्र विकास गर्ने जस्ता कार्यसूची अघि सारिएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपाल र भारतका पत्रकारले सीमावर्ती जनताका वास्तविक समस्या उजागर गर्न कलम चलाउनुपर्नेमा जोड दिए। उनले काठमाडौं वा दिल्लीको दृष्टिकोणभन्दा भिन्न, सीमाक्षेत्रमा बस्ने पत्रकारले स्थानीय समस्या प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने बताए ।
सम्मेलनमा नेपाल र भारतका गरी ८० भन्दा बढी सञ्चारकर्मी सहभागी भएका थिए ।