साउदी अरबमा पछिल्लो समय सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै त्यहाँस्थित नेपाली राजदूतावासले नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले आवश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा आधिकारिक निकायबाट जारी निर्देशन पालना गर्न अपिल गरेको हो ।
दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र तथा समयमा विशेष सावधानी अपनाउन नेपाली नागरिकलाई आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक तस्बिर तथा भिडियो पोस्ट र सेयर नगर्न पनि अनुरोध गरेको छ ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपाली नागरिकलाई आफ्नो उडानको तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रामा निस्कन दूतावासले सुझाव दिएको छ ।
त्यस्तै, कुनै समस्या वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा उपलब्ध सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्। उपलब्ध विवरणअनुसार त्यहाँ करिब चार लाख नेपाली श्रमिक रोजगारीमा रहेका छन् भने प्रत्येक वर्ष नेपालबाट करिब ९० हजार नेपाली रोजगारीका लागि साउदी अरब जाने गरेका छन् ।
सुरक्षा अवस्था संवेदनशील बनेको अवस्थामा दूतावासले जारी गरेका सूचना तथा आधिकारिक निकायका निर्देशनलाई ध्यानमा राख्दै सावधानी अपनाउन नेपाली नागरिकलाई आग्रह गरिएको छ ।