स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा दुई उच्चगतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सन् २०१३ यताकै गम्भीर रेल दुर्घटनाका रूपमा यस घटनालाई हेरिएको छ ।
रेल सञ्चालक कम्पनी इरियोका अनुसार आफ्नो रेललाई रेन्फे कम्पनीको रेलले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेका दुवै रेलमा ५०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
स्पेनका यातायातमन्त्रीले कम्प्युटर प्रणालीमा आएको खराबीका कारण रेलहरू रोकिएपछि नियन्त्रण केन्द्रबाट लिइएको निर्णयलाई दुर्घटनासँग जोडेर उल्लेख गरेका छन् । यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ ।
दुर्घटनास्थल पुगेका स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनापछि देश शोकमा रहेको बताएका छन् । दुर्घटनापछि स्पेनका प्रमुख राजनीतिक दलहरूले आमनिर्वाचनको प्रचारप्रसारसमेत स्थगित गरेका छ न्।
दुर्घटनाका प्रत्यक्षदर्शीहरूले घटनास्थलको अवस्था भयावह र अस्तव्यस्त रहेको बताएका छन् । रेलमा यात्रा गरिरहेका एक स्पेनी पत्रकारले घटनालाई अत्यन्तै पीडादायी र अराजक अवस्थाका रूपमा वर्णन गरेका छन् ।
दुर्घटनाको कारण, रेल सञ्चालन प्रणालीमा देखिएको भनिएको समस्याको भूमिका तथा अन्य परिस्थितिबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।