पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात थप तीव्र बनेर अत्यन्त शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात उत्तर-पश्चिमतर्फ अघि बढिरहेको छ । यसले बुधबार दिउँसोसम्म आन्ध्र प्रदेश तथा यानमको तटीय क्षेत्र पार गर्ने सम्भावना छ ।
मौसम विभागका अनुसार चक्रवातले बापटला र विशाखापट्टनमको बीचमा पर्ने यानम आसपासको क्षेत्रबाट तट पार गर्न सक्ने अनुमान गरिएको छ । त्यसबेला आँधीको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म रहने र अधिकतम गति १४० किलोमिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।
पछिल्लो विवरणअनुसार चक्रवात विशाखापट्टनमबाट करिब ३०० किलोमिटर, काकिनाडाबाट ३६० किलोमिटर, मछलीपट्टनमबाट ४६० किलोमिटर र बापटलाबाट ५३० किलोमिटर टाढा केन्द्रित छ ।
मौसम विभागका अनुसार चक्रवात मंगलबार साँझसम्म पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र त्यसपछि उत्तर-पश्चिमतर्फ मोडिने सम्भावना छ । यसले बुधबार बिहानदेखि आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
विभिन्न राज्यमा भारी वर्षाको चेतावनी
चक्रवातको प्रभावका कारण भारतका विभिन्न राज्यमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । तटीय आन्ध्र प्रदेश र यानममा मंगलबार तथा बुधबार, ओडिसामा बुधबार र छत्तीसगढमा बुधबार तथा बिहीबार भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
त्यस्तै, पूर्वी उत्तर प्रदेशमा बिहीबार भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । चित्रकूट, कौशाम्बी, प्रयागराज, फतेहपुर, प्रतापगढ, रायबरेली, अमेठी र सुल्तानपुरलगायत जिल्लामा वर्षाको सम्भावना रहेको जनाइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार बरेली, पिलिभित र शाहजहाँपुरसहित पूर्वाञ्चल, अवध तथा तराई क्षेत्रका विभिन्न स्थानमा वर्षा र तीव्र हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ । यसको प्रभावले दिउँसोको तापक्रम ५ देखि ८ डिग्री सेल्सियससम्म घट्न सक्ने प्रक्षेपण गरिएको छ ।
रेल सेवा र विद्यालय बन्द
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै भारतको साउथ कोस्ट रेलवेले मंगलबार र बुधबारका लागि ५३ वटा रेल सेवा रद्द गरेको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सेवा रद्द गरिएको जनाउँदै रेल प्रशासनले यात्रुलाई स्टेसन जानुअघि रेल सेवाको अवस्था र यात्राको मिति यकिन गर्न आग्रह गरेको छ ।
त्यस्तै, अण्डमान तथा निकोबार प्रशासनले चक्रवातलाई ध्यानमा राख्दै सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रशासनले सर्वसाधारणलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
विद्यालय बन्द रहे पनि बालबालिका तथा महिलाको पोषणमा असर नपरोस् भन्ने उद्देश्यले आँगनवाडीका कार्यकर्ता तथा सहयोगीलाई सम्बन्धित क्षेत्रमा तैनाथ रहन निर्देशन दिइएको छ । साथै, लाभग्राहीलाई घरघरमै सुक्खा खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको जनाइएको छ ।
भ्रामक सूचना नफैलाउन आग्रह
चक्रवातको जोखिम बढ्दै गएपछि ओडिसा सरकारले सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्मका लागि निर्देशिका जारी गरेको छ । सरकारले चक्रवातसम्बन्धी झूटा, भ्रामक वा अपुष्ट अनुमानमा आधारित सूचना तथा चेतावनी सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सम्बन्धित प्रशासनले सुरक्षा तयारी अघि बढाएका छन् । मौसम विभागले जारी गर्ने आधिकारिक सूचना तथा चेतावनीलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।