बारा, पर्सा र रौतहटमा पहिलोपटक कम्युनिष्ट आन्दोलनको बीउ रोप्ने अग्रज व्यक्तित्वका रूपमा चिनिएका वरिष्ठ नागरिक नन्दन अर्यालको ९५ वर्षको उमेरमा गएराति निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उनी उपचारकै क्रममा काठमाडौंमा अन्तिम श्वास लिएका हुन् ।
सिद्धान्तनिष्ठ र समर्पित कम्युनिस्टका रूपमा परिचित अर्यालले २०११ सालको ऐतिहासिक किसान आन्दोलनको नेतृत्व गरेका थिए । त्यसपछि उनले बारा, पर्सा र रौतहट क्षेत्रमा किसान र श्रमिकलाई संगठित गर्दै कम्युनिष्ट आन्दोलनलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पञ्चायतकालमा अर्याल पटक–पटक राज्यको निगरानीमा पर्न पुगे । उनका विरुद्ध बारम्बार वारेन्ट जारी गरिन्थ्यो र उनी पाँचपटकसम्म जेल जीवन व्यतित गर्न बाध्य भए । जेलमुक्त भएपछि पनि प्रहरीको लगातार निगरानीमा रहनु पर्ने परिस्थितिले गर्दा कहिले भूमिगत रहनुपर्थ्यो त कहिले भारततिर शरण लिनुपर्ने अवस्था आउँथ्यो ।
राजनीतिक जोखिमका बाबजुद उनले जीवनलाई कम्युनिष्ट आन्दोलनको विस्तार र किसान–मजदुर अधिकारका लागि समर्पित गरेका थिए । उनको निधनले तराईका पुराना कम्युनिष्ट कार्यकर्ताहरू स्तब्ध भएका छन् । उनका निकट नेताहरू भन्छन्, “अर्यालजी सच्चा सिद्धान्तनिष्ठ कम्युनिस्ट हुनुहुन्थ्यो, उहाँले आन्दोलनलाई जसरी जगेर्ना गर्नुभयो, त्यसले आज पनि राजनीति र समाजलाई मार्गदर्शन गर्छ ।”
उनको शव पशुपति आर्यघाटमा लगिएको छ र आजै अन्त्येष्टि गरिने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।