केही दिनयता वीरगन्ज क्षेत्रमा फैलिएको हैजा र झाडापखालालाई नियन्त्रणमा ल्याउन सकिएको छैन । यसबीचमा चार जनाको ज्यान गइसकेको छ ।
वीरगन्ज महानगरपालिकाले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार केवल वीरगन्जमै हैजा संक्रमितको संख्या १ सय ७३ पुगेको छ । यता पोखरिया अस्पतालमा सम्पर्कमा आएकामध्ये १५ जनामा हैजा पुष्टि भएको छ ।
स्वास्थ्य विज्ञका अनुसार हैजा संक्रमण नियन्त्रणका लागि यसको स्रोत पत्ता लगाउन सके मात्र संक्रमण दरलाई तीव्र गतिमा न्यून गर्न सकिन्छ । त्यसका लागि स्थानीय, प्रदेश र संघीय— तीनै तहका सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
दूषित पानी र संक्रमणको जोखिम
हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको संक्रमणबाट फैलिन्छ । दूषित खानेपानी वा खानाबाट यो रोग समुदायमा सर्ने भएकाले सुरक्षित खानेपानीको प्रयोग नै प्रमुख उपाय हो । आन्द्रामा संक्रमण भई झाडापखाला हुने, शरीरमा पानीको अभाव हुने र छोटै समयमा गम्भीर अवस्था उत्पन्न हुने हैजा दीर्घरोगी, बालबालिका, वृद्ध तथा रोग प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिलाई छिट्टै आक्रान्त बनाउन सक्छ ।
गत असार–साउनमा मधेशका धेरै स्थानमा खानेपानीको तीव्र अभाव भएपछि बाह्य स्रोतबाट आपूर्ति गरिएको थियो । स्थानीयले त्यस्तो अपरिचित पानी भण्डारण गरेर प्रयोग गरेका कारण अहिले हैजा फैलन सहज वातावरण बनेको विज्ञहरू बताउँछन् । तराई/मधेशमा प्रयोग हुने चापाकल समेत सुकेको छ । जसका कारण दूषित पानीसँग सम्पर्क बढेको छ ।
सचेतना र सतर्कता आवश्यक
विज्ञका अनुसार उमालेको पानी मात्रै पिउनु, राम्ररी पकाएको खाना खानु र सरसफाइमा ध्यान दिनुले हैजाबाट बच्न सकिन्छ । हैजा देखिएका क्षेत्रमा विद्यालय तत्कालै खोल्दा संक्रमण फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने सुझाव पनि दिइएको छ ।
सम्भावित संक्रमितलाई उपचारको दायरामा ल्याई चिकित्सकीय निगरानीमा राख्ने, पानीको स्रोत परीक्षण गर्ने र समुदायलाई सुरक्षित जीवनशैलीतर्फ प्रोत्साहित गर्ने काम सरकारको प्राथमिकतामा पर्नुपर्ने देखिएको छ ।
सत्ता र नागरिकबीचको असंवेदनशीलता
यस्तो विपत्मा नागरिक सहयोग र जवाफदेहीताका खोजीमा हुन्छन् । तर हालै एक युवतीले खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहसँग टेलिफोनमा गरेको सवालजवाफका आधारमा पक्राउ परेकी छन् । अडियोमा युवतीको भाषा संयमित नरहे पनि आफन्त संक्रमित हुँदा उत्पन्न आक्रोशलाई अपराध ठहर गरी कारबाही गर्नु उचित नभएको टिप्पणी भइरहेको छ ।
सामान्य सम्झाइबुझाइ वा चेतावनीमै समाधान हुने विषयलाई सत्ता प्रदर्शनको माध्यम बनाउन खोज्नु प्रतिकूल हुने विज्ञहरूको भनाइ छ । बरु जनप्रतिनिधिले आफ्नो काममार्फत नागरिकलाई जवाफ दिनुपर्छ, सत्ताको शक्तिद्वारा होइन ।