वीरगंजमा हैजा नियन्त्रणबाहिर रहेको भन्दै गुनासो गर्ने युवती किरण साहलाई थुनाउने खानेपानी मन्त्री प्रदीप यादवको पक्षमा उनका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएका कार्यकर्ताले किरण साहविरुद्ध कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन् । पानीको अभाव भएको बेलामा खटिएर सहयोग गरेका जिल्लाका नेतालाई धम्की दिएको आरोप लगाउँदै नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य तथा जसपाका केन्द्रीय सदस्य सल्मा खातुन लगायत जसपाका नेता कार्यकर्ताहरूले युवतीलाई कानूनी कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग आवद्ध नेता कार्यकर्ताहरूले पानीको अभाव भएको समयमा खटिएर सहयोग गरेका जिल्लाका नेतालाई धम्की दिएको जिकिर गर्दै प्रदर्शनकारीले युवतीलाई कारवाहीको माग गरेका छन् ।
यसअघि सोमबार साँझ भने किरणको रिहाइको माग गर्दै महिलाहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका थिए । वीरगंजमा फैलिएको हैजा र झाडापखालाबारे मन्त्रीसँग प्रश्न गरेको कारण पक्राउ गरिएको भन्दै उनीहरूले तत्काल रिहाइको माग गरेका थिए ।
कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरकी २४ वर्षीया किरण साहले ‘खानेपानी मन्त्री भएर वीरगंजमा पिउने पानी कस्तो बाँड्नुभयो ? रोकथाम र नियन्त्रणका लागि के गर्नुभयो ?’ भन्दै फोनमार्फत मन्त्रीसँग प्रश्न गरेकी थिइन् । तर, सोही घटनालाई आधार बनाएर मन्त्री यादवले उनीविरुद्ध तीनवटा मुद्दा दर्ता गराएका छन् ।
गत शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा किरण र मन्त्री यादवबीचको टेलिफोन वार्तामा किरणले कडा शैलीमा हैजाबारे प्रश्न गरेको सुन्न सकिन्छ । मन्त्रीसँग पटक–पटक सम्पर्क गर्न नसकेपछि उनले आक्रोश व्यक्त गरेको अडियोमा उल्लेख छ ।
भिडियाे सामाग्री