विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालको धार्मिक, पर्यटन र आर्थिक महत्वसँग जोडिएको राष्ट्रिय गौरव हो । तर पछिल्ला वर्षहरूमा पर्यटक र आरोहीहरूको चाप बढेसँगै सगरमाथामा फोहर थुप्रिँदै जानु गम्भीर चुनौती बनेको छ। यसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा प्रत्यक्ष असर पुर्याइरहेको छ ।
यही समस्या समाधानका लागि हालै प्रविधिको प्रयोगमार्फत सगरमाथामा फोहर संकलन अभियान सुरु गरिएको छ । विद्युतीय सवारीसाधन ब्रान्ड बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इङ्क र नेपाली ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा फोहर संकलन अभियान सञ्चालन भइरहेको हो ।
साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर संकलन गर्ने लक्ष्य राखेको छ । यो अभियान बिवाइडीले विश्वव्यापी रूपमा सुरु गरेको “कूल द अर्थ वाइ वान डिग्री” अभियानको हिस्सा हो, जसको उद्देश्य जलवायु परिवर्तनविरुद्ध दिगो समाधान ल्याउनु र शून्य कार्बन उत्सर्जनलाई प्रवर्द्धन गर्नु हो ।
साइमक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठका अनुसार यो अभियान सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो । उनले भने,
“सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो। यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ । दिगो विकास र स्वच्छ वातावरणकै लागि यो अभियान निरन्तरता पाएको हो ।”
एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेले प्रयोग भइरहेको ड्रोनले करिब १५ मिटर/सेकेन्डको गतिमा १५ डिग्री सेल्सियससम्मको चिसोमा काम गर्न सक्ने बताए। उनका अनुसार परम्परागत ढुवानीमा ६–७ घण्टा लाग्ने काम अब १–२ मिनेटमै सम्भव भएको छ । यसले आरोहणका क्रममा हुने मृत्यु दुर्घटनामा समेत कमी ल्याएको उनको भनाइ छ ।
हालसम्म एयरलिफ्टले सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर संकलन गरिसकेको थियो । यसपटक साइमक्स इङ्कसँगको सहकार्यमा २८६ केजी फोहर संकलन भइसकेको र आगामी दिनमा अमादब्लम तथा मनास्लु हिमालबाट पनि फोहर संकलनको तयारी भइरहेको निर्देशक पाण्डेले जानकारी दिए ।
नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा वरिष्ठ आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरूकै लापरबाहीका कारण सगरमाथामा फोहर बढेको बताए। उनले भने,
“आरोहीसँग फोहर शुल्क धरौटी स्वरूप लिन सरकारले व्यवस्था गरे पनि फिर्ता दिने हुँदा समस्या समाधान भएको छैन । अब स्थायी रूपमा शुल्क लिएर मात्र फोहर व्यवस्थापन गर्नुपर्छ ।”
सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन कार्य भइरहेको छ । अभियान सफल भएमा यसलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा पनि विस्तार गर्ने योजना रहेको एयरलिफ्ट टेक्नोलोजीले जनाएको छ ।