सिराहा | लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो लुटिएको खाद्यान्न प्रशासनको कडा निर्देशनपछि फिर्ता हुन थालेको छ ।
इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रिय स्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेको थियो। उनले भने,
“हामीले फिर्ता गर्न उर्दी जारी गरेका थियौँ। फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालका फोटो तथा भिडियोको आधारमा पहिचान गरी कानुनी कारबाही गरिनेछ ।”
स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको छ। केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार फिर्ता गरेका हुन् ।
खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ । “फिर्ता गर्नेको प्रतिष्ठालाई ध्यानमा राखेर नाम गोप्य राखिएको छ,” महतोले बताए ।
विवरणअनुसार, चार गोदाममा भण्डारण गरिएको ८ हजार १४८ क्वीन्टल चामल, ३ हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए । अनुमानित मूल्य रु १० करोड ९१ लाख २२ हजार ८२७ बराबर रहेको छ ।
खाद्यान्न सुरक्षित राख्न प्रयोग हुने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’ पनि लुटिएको छ । महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्छ । यस्तो सिट खाद्य कम्पनीसँग मात्रै उपलब्ध छ ।
लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएको कार र मोटरसाइकलमा आगजनी भएको थियो। साथै, खाद्यकर्मीको क्वार्टरबाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ ।
यसअघि विसं २०६३ को मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । स्थानीयहरूका अनुसार, आगामी दिनमा सामान्य आन्दोलनको बेला पनि पुनःलुटपाटको जोखिम उच्च रहेको छ ।