मधेश प्रदेशका विभिन्न जिल्लामा भएका तोडफोड र आगजनीका घटनाबाट गाउँपालिकाका भवन, सवारीसाधन र जनप्रतिनिधिहरूको निजी घरमा ठूलो क्षति भएको छ ।
पर्साको जगरनाथपुर र जिराभवानी गाउँपालिकामा गाडीमा आगजनी र फर्निचर तोडफोड भएको छ । बाराको देवताल, बारागढी र विश्रामपुर गाउँपालिकामा पनि भवन, गाडी र फर्निचर तोडफोड गरिएको छ । बारागढी गाउँपालिकामा त उपाध्यक्षको घरमा समेत लुटपाट र आगजनी भएको छ ।
सुवर्ण गाउँपालिकामा गाडीमा आगजनी भएको छ भने महोत्तरीको पिपरा र सोनमा गाउँपालिकामा पनि समान क्षति भएको छ । रौतहटको यमुनामाई, सप्तरीको अग्नीसाइर कृष्णासवरन, सर्लाहीको कौडेना, चन्द्रनगर र चक्रघट्टा गाउँपालिकामा समेत फर्निचर तोडफोड र सवारीसाधनमा आगजनी गरिएको छ। सर्लाहीकै ब्रह्मापुरी गाउँपालिकाका अध्यक्षको निजी घरमा लुटपाट भएको जनाइएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिकामा वडा भवन र अध्यक्षको घरमा आगजनी भएको छ भने धनौजी गाउँपालिकाको गाडीमा तोडफोड र आगजनी गरिएको छ । त्यस्तै, प्रशासनिक भवन र एक वडा कार्यालयमा आंशिक क्षति पुगेको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिकाको पालिका भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
सिराहाको औरही र नरहा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा नष्ट भएको छ भने नवराजपुर गाउँपालिकाको भवन तोडफोड र गाडीमा आगजनी भएको छ । बरियारपट्टी गाउँपालिकाको गाडीमा क्षति पुगेको छ भने भगवानपुर गाउँपालिकामा आंशिक र विष्णुपुर गाउँपालिका भवनमा पूर्ण क्षति भएको छ ।
समग्रमा, मधेश प्रदेशमा गाउँपालिका भवन सात वटामा पूर्ण र दस वटामा आंशिक, वडा कार्यालय दुई वटामा पूर्ण र चार वटामा आंशिक क्षति भएको छ । त्यस्तै, जनप्रतिनिधिका चार वटा निजी घर पूर्ण र एउटा आंशिक रूपमा क्षतिग्रस्त भएको प्रदेश सरकारले जनाएको छ ।