सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ र ३ अन्तर्गत पर्ने विशाल चौकदेखि राजविराजसम्मको सडक मर्मतमा अनियमितता भएको आरोप लागेको छ । गाउँपालिका स्तरीय योजना अन्तर्गत सञ्चालित २० लाख रुपैयाँको योजनामा उपभोक्ता समिति र गाउँपालिकाको मिलीभगतमा बजेट दुरुपयोग भएको स्थानीयवासीले आरोप लगाएका छन् ।
गाउँपालिकाको बजेट समयमा सदुपयोग नहुँदा दैनिक आवतजावतमा समस्या भएको स्थानीयले गुनासो गरेका छन् । पूर्व वडा अध्यक्ष अरुणकुमार चौधरीका अनुसार, ग्राभेल भएको बाटो मर्मत गर्ने नाममा जेसीबी प्रयोग गरी बाटो अझै बिगारिँदा सिटीरिक्सा, एम्बुलेन्सलगायत आकस्मिक सेवा सञ्चालनमा समेत बाधा पुगेको छ ।
उनले मर्मतको काममा २० प्रतिशतभन्दा कम काम गरेर २० लाखको बजेट बाँडफाँड गरिएको दाबी गर्दै पाँच लाख रुपैयाँभन्दा कम खर्च भएको आरोप लगाए । त्यस्तै, स्थानीय बद्री चौधरीले "कामै नगरी २० लाख रुपैयाँ भुक्तानी लिएको छानबिन गरी कारबाही हुनुपर्छ" भन्दै असन्तुष्टि जनाए ।
सिटीरिक्सा चालक गुगली रजकले सडक खाल्डाखुल्डी र हिलाम्मे भएपछि ठुलो सास्ती खेप्नुपरेको बताए । अर्का चालक खेलानन्द चौधरीले बाटो बिग्रिएकाले आम्दानी ठप्प भएको भन्दै "ऋणको किस्ता बुझाउन पनि नसक्ने अवस्था आएको छ" भने ।
अर्का चालक रामविलास साहले भने, "सडक राम्रो हुँदा दैनिक १,५०० देखि ३,००० सम्म कमाइ हुन्थ्यो। अहिले बाटो बिग्रिएपछि आम्दानी रोकिएको छ ।"
साविक हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरीले "ग्राभेलमाथि खोलाको बालुवा हाल्दा बाटो बिग्रिएको" भन्दै भ्रष्टाचार भएको टिप्पणी गरे। स्थानीय विनोदकुमार चौधरीले २० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भएको भन्दै "भ्रष्टाचार रोक्न सामूहिक खबरदारी जरुरी छ" भने ।
तर, सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष परशुराम ठाकुरले भने स्टिमेटभन्दा बढी काम गरेको दाबी गरेका छन्। उनले वर्षायामका कारण खाल्डाखुल्डी भएको स्वीकार गर्दै "छिट्टै मर्मत गर्ने" आश्वासन दिए ।