सप्तरी । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट सप्तरी राजविराजस्थित वन डिभिजन कार्यालयमा ठुलो क्षति पुगेको छ ।
वन डिभिजन कार्यालयका प्रमुख सुभाषचन्द्र दासका अनुसार, आगजनी र लुटपाटबाट भवन, कागजात र जिन्सी सामान जलेर नष्ट हुँदा करिब १ करोड ७१ लाख ८१ हजार ९४० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
डिभिजन प्रमुख दासले करिब ७० लाख रुपैयाँ बराबरको भवन जीर्ण बनेको र त्यहाँबाट कार्यालय सञ्चालन गर्ने अवस्था नरहेको बताए । उनका अनुसार कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रण उपकरण (एयर ब्लोवर), जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री पूर्णरूपमा नष्ट हुनुका साथै केही सामग्री लुटेर लगिएको छ ।
प्रदर्शनकै क्रममा कार्यालय भवनमा आगजनी हुँदा अधिकांश कागजात समेत जलेर नष्ट भएका छन् । तत्कालीन अवस्था जीर्ण भएकाले हाल राजविराज–८ स्थित भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको डिभिजन प्रमुख दासले जानकारी दिए । उनका अनुसार, “तीन–चार दिनभित्र नयाँ स्थानबाट नियमित सेवा सुरु गर्ने गरी काम भइरहेको छ ।”
यसैबीच, लुटेर लगिएका केही सामग्री फिर्ता हुन थालेका छन् । सार्वजनिक सूचना जारी गरेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा तीन थान जेट सुटर र एक थान जिपिएस फिर्ता आएको भए पनि अन्य चोरी भएका सामग्री अझै फिर्ता हुन नसकेको कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा राजविराजस्थित सरकारी कार्यालयमध्ये वन डिभिजन कार्यालय बढी क्षति पुगेका प्रभावित कार्यालयमध्ये एक भएको बताइएको छ ।