वीरगंज/महोत्तरी । तराई–मधेसमा प्रत्येक वर्ष नवरात्रि अवधिभर विभिन्न शक्तिपीठ, चोक–बजारमा क्लब तथा संघ–संस्थाहरूले समिति बनाएर दुर्गा पूजा समारोह आयोजना गर्दै आएका थिए । तर यस वर्ष जेनजी आन्दोलनका कारण जनधनको क्षति र आर्थिक संकटका कारण पूजा कार्यक्रम सञ्चालनमा चुनौती देखिएको छ ।
दुर्गा पूजाका लागि व्यवसायी, स्थानीयवासी र अन्य स्रोतबाट चन्दा उठाएर नवरात्रिभर पूजा–पाठ, मेला र मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँदै आएको थियो । आन्दोलनपछि उत्पन्न परिस्थितिमा यस्ता कार्यक्रम गर्ने कि नगर्ने भन्नेमा आयोजक समितिहरू अन्योलमा परेको बताएका छन् ।
शक्तिपीठहरू र दुर्गा पूजास्थलहरूमा श्रद्धालु, समिति तथा स्थानीय युवाहरू आवश्यक तयारीमा जुटेका छन् । तर देशभर चलेको आन्दोलन र त्यसपछिको आर्थिक सङ्कटले यस वर्षको दसैँ उत्सवमा ठूलो असर पर्ने संकेत देखिएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर लगायतका पूजास्थलहरूमा हरेक वर्ष भव्य रूपमा दुर्गा पूजा महोत्सव आयोजना हुँदै आएको थियो । यस वर्ष पनि स्वर्ण जयन्ती वर्षका रूपमा पूजालाई विशेष बनाउन योजना बनाइएको थियो। तर जेनजी आन्दोलनपछि आर्थिक मन्दी र बेरोजगारीका कारण पूजाका लागि आवश्यक बजेट जुटाउन कठिन भएको समितिका अध्यक्ष जितेन्द्र साहले बताए ।
अध्यक्ष साहका अनुसार अघिल्ला वर्षहरूमा पूजामा २०–२५ लाख रुपैयाँ खर्च हुँदै आएकोमा यस वर्ष ८–१० लाखमै कार्यक्रम सम्पन्न गर्ने योजना छ। भव्य मेला, झाँकी, सांस्कृतिक कार्यक्रम र भजन कीर्तनमा पनि कटौती गर्नुपर्ने अवस्था आएको उनले बताए ।
जलेश्वरकै अर्को प्रमुख पूजास्थल महेन्द्र चोकमा रहेको दुर्गा पूजा कमिटी जलेश्वरले पनि आर्थिक संकटका कारण सजावट र साउन्ड सिस्टमजस्ता खर्चिलो पक्षमा कटौती गर्ने निर्णय गरेको छ । कमिटीका अध्यक्ष शिवचन्द्र चौधरीले भने, “सजावटमा खर्च कटौती गरे पनि पूजाको धार्मिक भव्यता र गरिमामा कुनै कमी आउन दिँदैनौँ ।”
यसअघि जलेश्वर नगरपालिका र स्थानीय व्यवसायीहरूको चन्दा पूजाको मुख्य स्रोत हुने गरेको थियो । तर आन्दोलनपछि देशको आर्थिक अवस्था कमजोर भएपछि व्यापारी र उद्योगीहरूले पनि पर्याप्त सहयोग गर्न नसक्ने अवस्था देखिएको छ। यसले गर्दा शंकर चोक, पिपरा, गौशाला, पर्सा र महोत्तरी गाउँका दुर्गा पूजास्थलमा भव्यतालाई लिएर अनिश्चितता देखिएको छ ।
यद्यपि, आर्थिक संकटका बाबजुद पनि स्थानीय समितिहरू, स्वयंसेवक र युवा क्लबहरूले पूजाको परम्परा जोगाउन प्रयास गरिरहेका छन् । सीमित स्रोत–साधनमा पनि पूजालाई सकभर भव्य बनाउन र धार्मिक भावना तथा समुदायको सहकार्यलाई जोड दिइएको छ । दसैँजस्तो पर्व केवल उत्सव मात्र नभई सांस्कृतिक पहिचान र धार्मिक आस्थासँग गाँसिएको परम्परा भएकोले यसलाई जसरी पनि जोगाउनुपर्ने आयोजकहरूको भनाइ छ ।
